भैरव आक्रामक, रेशम फिलिली पनि राम्रो


भाद्र १३, २०७२- 
लामो समयपछि चलचित्रमा कमब्याक गरेका अभिनेता निखिल उप्रेतीलाई दर्शकहरूले आत्मीयता दर्साएका छन् । उप्रेतीकै डेब्यु निर्देशनको एक्सनप्रधान चलचित्र ‘भैरव’ ले शुक्रबार तथा शनिबार आक्रामक व्यापार गरेको छ भने गाईजात्राका कारण काठमाडौंमा सार्वजनिक बिदा भएकाले आइतबार पनि यो चलचित्रले उत्साहजक व्यवसाय गरिरहेको छ । 
निखिल उप्रेतीको ‘भैरव’ ले भने अकल्पनीय व्यवसाय गरिरहेको छ । निर्माता, निर्देशक तथा अभिनेता उप्रेतीका अनुसार ‘भैरव’ ले सिंगल थिएटरमा चमत्कार गरेको छ । गोपीकृष्णको १२ सय दर्शक क्षमताको गोपी हल हाउसफुल भएको छ । आज आइतबार पनि ‘भैरव’ ले सिंगल थिएटरमा कब्जा जमाएको छ । शुक्रबारदेखि प्रदर्शन प्रारम्भ भएको ‘भैरव’ ले शुक्रबार नै आक्रामक व्यवसाय गरेको वितरक कम्पनीको दावी छ । एफडी कम्पनीका अनुसार शुक्रबारका चारवटै शोमा दर्शकको उत्साहजनक उपस्थिति थियो ।
निखिल उप्रेती र अनु शाह मुख्य भूमिकामा रहेको ‘भैरव’ काठमाडौंका गोपीकृष्णबाहेक अष्टनारायण, गुण, कलंकी, पुष्पाञ्जली सिनेमा हलमा हाउसफूल भयो । दुई दिनमा यो चलचित्रले १ करोड रुपैयाँको ग्रस कलेक्सन गरेको बताइन्छ । शुक्रबार यो चलचित्रले काठमाडौं उपत्याकामा २४ लाख रुपैयाँ संकलन गरेको थियो भने शनिबार ५६ लाख रुपैयाँको व्यवसाय गरेको छ । काठमाडौंबाहिर भने यसले शुक्रवार ११ लाख तथा शनिवार १६ लाख रुपैयाँ संकलन गरेको थियो । 
१ करोड भन्दा बढी लगानी भएको ‘भैरव’ ले लगानी उठाउनकै लागि पनि कम्तीमा ३ करोडको ग्रस कलेक्सन गर्नुपर्नेछ । शुक्रबार यो चलचित्र काठमाडौंबाहेक पोखरा, हेटौंडा तथा नारायणघाटमा मात्र प्रदर्शन भएको छ । गृहमन्त्रालयले आन्दोलनरत क्षेत्रमा यो चलचित्र प्रदर्शन गर्न रोक लगाएपछि ती क्षेत्रमा केही पछि मात्र यो चलचित्र प्रदर्शन हुनेछ । ‘भैरव’ मा मुरलीधर, नागेन्द्र रिजाल, जयकिशन बस्नेत आदि कलाकारले पनि अभिनय गरेका छन् । 
अर्कातिर शुक्रबारदेखि नै प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ ले पनि निर्माताहरूलाई उत्साहित बनाएको छ । निर्माता माधव वाग्लेका अनुसार आज आइतबार पनि यो चलचित्रले मल्टिप्लेक्समा उल्लासयम व्यवसाय गरेको छ । ‘आज पनि हामीले क्यूएफएक्समा नौ शो पाएका छौं,’ साप्ताहिकसँग कुराकानी गर्दै निर्माता वाग्लेले भने— ‘हामी चलचित्रको व्यवसायबाट उत्साहित छौं ।’ निर्माता वाग्लेका अनुसार ‘रेशम फिलिली’ ले दुई दिनमा करिब ४० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । प्रणव जोशीको निर्देशनमा तयार भएको ‘रेशम फिलिली’ मा विनय श्रेष्ठ, मेनुका प्रधान, कर्मा, कामेश्वर चौरासिया, आशुतोष श्रेष्ठ, अरुण रेग्मी, लक्ष्मी गिरी, शिशिर वाङ्देल आदि कलाकारले अभिनय गरेका छन् । 
त्यसो त अघिल्लो सातादेखि नै प्रदर्शन भएको सुनिल रावलको चलचित्र ‘होस्टल रिटन्र्स’ ले पनि दर्शकको साथ पाइरहेको छ । काठमाडौं तथा मोफसलमा प्रदर्शन भैरहेको यो चलचित्रले युवापुस्ताका दर्शकलाई आकर्षित गरेको छ । 

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post